झापा : जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट लुटिएका १७ थान हतियार र करिब १० हजार राउण्ड गोली अझै फेला परेको छैन ।
आन्दोलन सकिएको लामो समय बितिसक्दा पनि यति ठूलो मात्रामा हतियार र गोली बेपत्ता रहनु सार्वजनिक सुरक्षाका दृष्टिले जोखिमपूर्ण भएको प्रहरी स्वयं स्वीकार गर्छ।
प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र दमकबाट लुटिएका केही हतियार झाडी तथा चिया बगान क्षेत्रमा फेला परे पनि ठूलो हिस्सा अझै हराइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जनपद प्रहरीतर्फका १५ थान हतियार अझै फिर्ता नभएको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार फिर्ता नआएका हतियारमा एसएलआर १ थान, ३०३ राइफल १ थान, एसएमजी २ थान, सर्टगन १ थान, ईन्सास राइफल १ थान, मार्क फोर राइफल २ थान, रिवल्वर ४ थान, पेस्तोल १ थान र ग्यास गन २ थान गरी १५ थान हतियार फिर्ता भएको छैन ।
त्यस्तै ९ हजार ८१ राउण्ड गोली फिर्ता नभएको खड्काले बताए ।
त्यस्तै, सशस्त्र प्रहरीतर्फ एसएलआर १ थान, एसएलआर म्याग्जिन ४ थान, राउण्ड ७।६२ एमएम ५३९ थान र ग्यास सेल ४ थान फिर्ता नभएको सशस्त्र जनाइएको छ ।
आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै लुटिएका यस्ता हतियार अपराध, तस्करी वा आपराधिक गिरोहको हातमा पुग्न सक्ने खतरा बढेको सुरक्षा विश्लेषकहरूको भनाइ छ।
प्रहरीका अनुसार हतियार खोजीका लागि निरन्तर अपरेसन चलिरहेको भए पनि हालसम्म निर्णायक सफलता हात लागेको छैन।














Discussion about this post