इटहरी : इटहरी उपमहानगरपालिका–२ भृकुटी चोकमा गएराति भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा ढिलाइ हुनुको मुख्य कारण इटहरीमै दमकल नहुनु रहेको खुलेको छ।
स्थानीय माया राईको घरमा बिहानको राति करिब २ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। काठको संरचना भएका कारण आगो तीव्र रूपमा फैलिएको थियो।
इटहरीका दमकल गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा जलेर नष्ट भएपछि हालसम्म नयाँ व्यवस्था हुन सकेको छैन। जसका कारण धरान र दुहबीबाट दमकल बोलाउनुपरेको थियो।
दमकल घटनास्थल पुग्न ढिलाइ हुँदा आगो करिब तीन घण्टापछि मात्रै नियन्त्रणमा आएको हो।
स्थानीयवासीले दमकल ढिलो आइपुगेकै कारण घर पूर्ण रूपमा जलेको बताएका छन्। उनीहरूका अनुसार प्रारम्भिक समयमा नियन्त्रण प्रयास असफल हुँदा आगो फैलिँदै गएको थियो।
घटनामा मानवीय क्षति नभए पनि घर पूर्ण रूपमा नष्ट हुँदा ठूलो आर्थिक क्षति भएको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।














Discussion about this post