इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र १ हजार ५७० ट्याब्लेट डाइसाइक्लोमिनसहित १८ वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी खनारबाट खटिएको टोलीले विश्वकर्मालाई शंका लागेर चेकजाँच गरेको थियो।
उनको साथमा रहेको झोला खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, इटहरी–१० डुमटाबाट प्रहरीले ८० क्याप्सुल ट्रामाडोल र ४० ट्याब्लेट डाइसाइक्लोमिनसहित २४ वर्षीय आशिष सरदारलाई पक्राउ गरेको छ।
पैदल हिँडिरहेका सरदारलाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post