इटहरी : विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” सफलतापूर्वक सम्पन्न भएको छ।
पर्यावरण संरक्षण तथा स्वच्छ पदमार्ग प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ७७ जना सहभागी भएका थिए। सहभागीहरूले इलामको खुडीबाट हाइकिङ सुरु गरी मोरङको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी पुगेर वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए।
फर्कने क्रममा पदमार्ग तथा आसपासका क्षेत्रमा छरिएर रहेको मिस्रित फोहोर सङ्कलन गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागीहरूले कुल १०४ दशमलव १७ किलोग्राम फोहोर सङ्कलन गरेका थिए।
फोहोर सङ्कलनलाई व्यवस्थित बनाउन सहभागीहरूलाई कपडाबाट निर्मित पुनःप्रयोग गर्न मिल्ने झोला उपलब्ध गराइएको थियो। उनीहरूले सोही झोलामा फोहोर सङ्कलन गरेका थिए।
कार्यक्रमको अन्त्यमा वातावरण संरक्षणमा योगदान पुर्याएको कदरस्वरूप सबै सहभागीलाई नेपाली कागजबाट निर्मित प्रमाणपत्र वितरण गरिएको थियो।
आयोजक संस्थाले यस्ता कार्यक्रमले प्रकृति संरक्षण, जिम्मेवार पर्यटन प्रवर्द्धन तथा समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।













Discussion about this post