विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’का रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई घोषणा गरेको छ।
ट्राफिक व्यवस्थापन सुधार, सवारी दुर्घटना न्यूनीकरण र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले न्यौपानेलाई सम्मान गरेको हो।
प्रहरीका अनुसार न्यौपानेको नेतृत्वमा चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण, लागूऔषध र मापसे परीक्षण, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही तथा समुदायस्तरमा ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो।
त्यस्तै, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियान सुरु गरिएको, सेवाग्राहीका लागि ट्राफिक कार्यालय परिसरमा प्रतीक्षालय निर्माण गरिएको तथा पार्किङ व्यवस्थापनका लागि ह्विल लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन, ब्यारिकेड र रिफ्लेक्टिभ ज्याकेटको प्रयोग विस्तार गरिएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरीका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त ट्राफिक लाइट र वार्निङ सोलार लाइट पुनः जडान गरी सवारी आवागमनलाई व्यवस्थित बनाउन पनि न्यौपानेले प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।












Discussion about this post