मोरङ : विद्युत् सेवा सुचारु बनाउन मर्मत कार्यमा खटिएका नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएका छन्।
मोरङको रतुवामाई नगरपालिकामा विद्युत् पोलमा मर्मत गरिरहेका बेला करेन्ट लाग्दा प्राधिकरणका कर्मचारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाई नगरपालिका–१ हटियाडाँडास्थित विद्युत् पोलमा मर्मत कार्य गरिरहेका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका ४६ वर्षीय सुर्जानन्द मण्डल करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
रतुवामाई–४ सिंघारी निवासी मण्डललाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बूको नेतृत्वमा टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो।
करेन्ट लाग्नुको कारण र मर्मतका क्रममा अपनाइएका सुरक्षा उपायबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।













Discussion about this post