झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर घाइते भएका छन् ।
बस्तीमा प्रवेश गरेका दुईवटा हात्तीले आक्रमण गर्दा स्थानीय बासिन्दा प्रभावित भएका हुन् ।
इलाका प्रहरी कार्यालय राजगढका अनुसार जनता बजारकी करिब ७० वर्षीया नजमा खातुनको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान करिब ५ः३० बजे मर्निङ वाकमा निस्किएकी खातुनलाई बस्तीमा प्रवेश गरेको हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
हात्तीको आक्रमणबाट बाह्रदशी–२ कै चैतन्यबारी क्षेत्रका करिब ७३ वर्षीय झप्टु राजवंशी पनि घाइते भएका छन् । बिरिङ खोलानजिक हात्तीले आक्रमण गर्दा उनको खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।
घाइते राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
















Discussion about this post