यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार तथा दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेका जीवन न्यौपानेसँग समसामयिक व्यवसायिक अवस्था, उद्योगी–व्यवसायीका चुनौती, संघको भूमिका र आफ्ना भावी योजनाबारे गरिएको कुराकानीको सम्पादित अंश :-
१. सर्वप्रथम आफ्नो व्यक्तिगत तथा व्यवसायिक पृष्ठभूमिबारे बताइदिनुहोस् न ? कुन व्यवसायमा हुनुहुन्छ र यो क्षेत्रमा कति वर्षदेखि सक्रिय हुनुहुन्छ ?
म करिब २० वर्षदेखि इटहरीमा व्यवसाय गर्दै आएको व्यवसायी हुँ। पाथीभरा अटो वर्कशप प्रा.लि. सञ्चालन गर्दै आएको छु भने पाथीभरा कन्स्ट्रक्सनमार्फत ठेकापट्टा व्यवसायमा पनि दुई दशकदेखि सक्रिय छु। व्यवसायमार्फत स्थानीय अर्थतन्त्रमा योगदान, रोजगारी सिर्जना र व्यवसायिक वातावरण सुधारका लागि निरन्तर काम गर्दै आएको छु। व्यवसायबाट प्राप्त अनुभवलाई संस्थागत विकासमा उपयोग गर्ने उद्देश्यले यस निर्वाचनमा उम्मेदवारी दिएको हुँ।
२. उद्योग वाणिज्य संघसँग तपाईंको सम्बन्ध कहिलेदेखिको हो ? यसअघि संघमा कुनै जिम्मेवारी सम्हाल्नुभएको थियो ?
उद्योग वाणिज्य संघसँग मेरो सम्बन्ध लामो समयदेखिको हो। विभिन्न कार्यक्रम, छलफल तथा व्यवसायीका साझा मुद्दामा सक्रिय रूपमा सहभागी हुँदै आएको छु। यसअघि संघको कार्यसमिति सदस्यका रूपमा काम गर्ने अवसर पनि पाएको थिएँ। त्यही अनुभवलाई अझ प्रभावकारी रूपमा उद्योगी–व्यवसायीको हितमा प्रयोग गर्ने उद्देश्यका साथ फेरि उम्मेदवार बनेको हुँ।
३. तपाईंलाई चुनाव लड्न प्रेरित गर्ने मुख्य कारण के हो ?
व्यवसायीका समस्या नजिकबाट देखेको छु। ती समस्याको समाधान संस्थागत रूपमा गर्न सकिन्छ भन्ने विश्वासले नै मलाई चुनाव लड्न प्रेरित गरेको हो। सेवा गर्ने भावना नै मेरो मुख्य प्रेरणा हो।
४. निर्वाचित हुनुभयो भने तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?
मेरो पहिलो प्राथमिकता व्यवसायीका समस्या सुन्ने, सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्ने तथा उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने हुनेछ।
५. इटहरीका उद्योगी–व्यवसायीले अहिले भोगिरहेका सबैभन्दा ठूला समस्या के–के हुन् ? ती समाधानका लागि तपाईंको योजना के छ ?
बजारमा मन्दी, घट्दो कारोबार, बैंकको उच्च ब्याजदर, करसम्बन्धी जटिलता तथा अनलाइन व्यापारको बढ्दो चुनौती अहिलेका प्रमुख समस्या हुन्। यी विषयमा स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग निरन्तर संवाद गरेर व्यवसायीमैत्री वातावरण बनाउन पहल गर्नेछु।
६. तपाईँले भनेजस्तै बजारमा मन्दी छ । घट्दो कारोबार र अनलाइन व्यापारको बढ्दो प्रभावलाई तपाईं कसरी हेर्नुहुन्छ ?
यसलाई म चुनौतीसँगै अवसरका रूपमा पनि हेर्छु। परम्परागत व्यवसायलाई डिजिटल प्रविधिसँग जोडेर अनलाइन बजारको सदुपयोग गर्न व्यवसायीलाई आवश्यक तालिम र सहयोग उपलब्ध गराउनुपर्छ। यस विषयमा विशेष पहल गर्ने मेरो योजना छ।
७. संघभित्र सबै व्यवसायीको आवाज समान रूपमा सुनिने वातावरण बनाउन तपाईंले कसरी काम गर्नुहुन्छ ?
उद्योग वाणिज्य संघ सबै व्यवसायीको साझा संस्था हो। त्यसैले सबै क्षेत्रका व्यवसायीसँग नियमित भेटघाट, खुला छलफल र सुझाव संकलनको व्यवस्था गरेर सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गर्नेछु।
८. साना तथा मझौला व्यवसायीको हितका लागि संघले अहिलेभन्दा फरक के गर्नुपर्छ भन्ने लाग्छ ?
साना तथा मझौला व्यवसायीका लागि सीप विकास, व्यवसायिक परामर्श, सहुलियतपूर्ण वित्तीय पहुँच, डिजिटल व्यापारसम्बन्धी तालिम तथा उनीहरूको आवाजलाई प्राथमिकतामा राख्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।
९. स्थानीय सरकार, कर नीति, बैंकको ब्याजदर र लगानीमैत्री वातावरणबारे तपाईंको धारणा के छ ?
व्यवसायीमैत्री नीति, सरल कर प्रणाली, उचित ब्याजदर र लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक छ। उद्योग वाणिज्य संघले व्यवसायीको आवाज सम्बन्धित निकायसम्म सशक्त रूपमा पुर्याउनुपर्छ।
१०. चुनावपछि धेरै प्रतिनिधि व्यवसायीबाट टाढा हुने आरोप लाग्छ। तपाईंले त्यो विश्वास कसरी तोड्नुहुन्छ ?
म नियमित रूपमा व्यवसायीसँग भेट्ने, सुझाव सुन्ने, मासिक अन्तरक्रिया गर्ने र आफ्नो कामको प्रगति सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। चुनावपछि पनि व्यवसायीसँग निरन्तर सम्पर्कमा रहनेछु।
११. अन्त्यमा, इटहरीका सम्पूर्ण उद्योगी–व्यवसायीलाई तपाईंको सन्देश के छ ?
उद्योगी तथा व्यवसायी साथीहरू, हाम्रो एकता नै हाम्रो शक्ति हो। तपाईंहरूको विश्वास र साथ पाएँ भने इमानदारी, पारदर्शिता र उत्तरदायित्वका साथ उद्योगी–व्यवसायीको हकहितका लागि निरन्तर काम गर्नेछु। समृद्ध व्यवसाय, सक्षम उद्योग वाणिज्य संघ र उज्ज्वल इटहरी निर्माणका लागि तपाईंहरूको अमूल्य मत र सहयोगको हार्दिक अपेक्षा गर्दछु। करिब दुई दशकको व्यवसायिक यात्रामा धेरै संघर्ष, दुःख र चुनौती पार गरेको छु। त्यसैले व्यवसायीका वास्तविक समस्या, आवश्यकता र समाधानका उपायलाई नजिकबाट बुझेको छु। तपाईंहरूको विश्वासले सेवा गर्ने अवसर पाउनेछु भन्ने अपेक्षा राखेको छु।






















Discussion about this post