इटहरी : मोरङको लेटाङस्थित एक रिसोर्टमा एक महिलालाई नशालु पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।
घटनामा महिलालाई योजनाबद्ध रूपमा रिसोर्टमा पुर्याएर ज्यान मार्ने धम्की दिँदै बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ की २५ वर्षीया सोनुमा लिम्बू, केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका–१० का ३८ वर्षीय डम्बर खतिवडा रहेका छन्।
प्रहरीका अनुसार गत १७ साउनमा सोनुमाले पीडित महिलालाई नशालु पदार्थ सेवन गराई लेटाङ नगरपालिका–१ स्थित ‘हाम्रो रिसोर्ट’मा पुर्याएकी थिइन्।
त्यसपछि कमलबहादुर र डम्बरसँगको मिलेमतोमा पीडितलाई ज्यान मार्ने धम्की दिइएको र खतिवडाले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनाबारे उजुरी परेपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।











Discussion about this post