इटहरी : इटहरीबाट प्रहरीले करिब ६ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ। प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई समेत पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बुधबार इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार खुला सुर्ती १५० किलो ८० थान झोला झोला बरामद गरिएको छ। बरामद सामानको अन्दाजी मूल्य ५ लाख ९५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।
यसैबीच, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई इटहरी–१ आँपगाछीबाट पक्राउ गरेको हो।
उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार लगत नम्बर ११/३७५२ को बैंकिङ कसुर मुद्दामा दाहालले ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दाहाललाई आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।











Discussion about this post