इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको भन्दै हमाललाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिबीच झडप हुँदा उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा हमालले प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
उनको कमान्डमा परिचालित प्रहरी टोलीले साउन २७ गतेसम्म उक्त क्षेत्रमा निरन्तर सुरक्षा प्रदान गरेको थियो।
खासगरी संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन, सरकारी, सार्वजनिक र निजी सम्पत्तिको सुरक्षा तथा सम्भावित जनधनको क्षति रोक्न प्रभावकारी रूपमा काम गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटनामा मृत्यु भएका व्यक्तिहरूको दाहसंस्कारका क्रममा समेत उचित सुरक्षा प्रबन्ध मिलाइएको थियो।
यसैगरी, हमालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट २३ दशमलव १३ ग्राम ब्राउनसुगरसहित उल्लेख्य संख्यामा लागूऔषध कारोबारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विभिन्न स्थानबाट भन्सार छली ल्याइएका कपडालगायत खाद्यान्न सामग्रीसमेत बरामद गरी सुनसरी भन्सार कार्यालयमा दाखिला गरिएको थियो।
प्रहरी सेवा प्रवाहमा अनुशासन, व्यावसायिकता, कर्तव्यनिष्ठा र उच्च मनोबल प्रदर्शन गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उत्कृष्ट योगदान पुर्याएको मूल्याङ्कन गर्दै हमाललाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।












Discussion about this post