उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मन्दिर व्यवस्थापन समिति र स्थानीयको सहभागितामा बाजागाजासहित फूलपाती भित्र्याउने कार्यक्रम सम्पन्न भएको हो ।
बोक्सेस्थित पशुसेवा कार्यालय नजिक रहेको बेलको रूखमा वैदिक विधिअनुसार पूजाअर्चना गरी बेलपत्रसहितको फूलपाती गाईघाट बजार परिक्रमा गराउँदै पञ्चावती भगवती मन्दिरमा पुर्याइएको थियो । मन्दिरमा विशेष पूजाअर्चना गरी फूलपाती भित्र्याएपछि कालो बोको बलि दिइएको थियो ।
यसै अवसरमा नेपाली सेनाको पशुपतिप्रसाद गणले मन्दिर परिसरमा छुट्टै पूजाआजा गरी कालो बोको बलि दिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेपाली सेनाको पशुपतिप्रसाद गणका प्रमुख, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईं, सशस्त्र प्रहरी बल ५ नम्बर गणका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
दसैँको सप्तमीका दिन फूलपाती भित्र्याउने परम्पराले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । पञ्चावती भगवती मन्दिरमा आयोजित पूजाआजामा स्थानीयको ठूलो उपस्थिति रहेको थियो ।
















Discussion about this post