इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ ।
इटहरीस्थित संगीत साधना प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा कवि, लेखक तथा साहित्यकारहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकबारे कवि तथा लेखक टीका आत्रेय र लेखक राम खरेलले समीक्षा प्रस्तुत गरेका थिए भने पत्रकार हिमाल दाहालले पुस्तकका लेखक थापासँग संवाद गरेका थिए ।
संगीत साधना प्रतिष्ठानका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षता तथा सांसद सृष्टि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि मनु मञ्जिलले पुस्तकको विषयवस्तुमाथि चर्चा गर्दै लेखक थापालाई लेखन यात्रामा प्रवेश गरेकोमा बधाई तथा आगामी लेखनका लागि शुभकामना दिए ।
प्रतिष्ठानका महासचिव राजु केसीले स्वागत मन्तव्य राख्दै लेखक थापाले आफ्ना जीवनभोगाइ र अनुभवलाई संस्मरणका रूपमा पुस्तकमा प्रस्तुत गरेको बताए । कुनै समय ‘क्लिन इटहरी’ अभियानका अभियन्तासमेत रहेका थापाले समाज र जीवनका विभिन्न पक्षलाई पुस्तकमा समेटेको उनको भनाइ थियो ।
पुस्तकको समीक्षा गर्दै आत्रेयले लेखकले आफ्ना भोगाइलाई संस्मरणका माध्यमबाट व्यक्त गरेको र पुस्तक पूर्वी नेपालको सामाजिक परिवेशसँग नजिक रहेको बताइन् । प्रकृतिबाहेक हरेक विषयको सुरुवात प्रश्नबाट हुने उल्लेख गर्दै उनले मानिसको जीवनमा बलियो जगको महत्त्वलाई लेखकले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको धारणा राखिन् ।
त्यस्तै, अर्का समीक्षक खरेलले पुस्तकमा समाजका सामान्य पात्रहरूको महत्त्व, योगदान र जीवनका कथालाई सरल भाषामा प्रस्तुत गरिएको बताए । समाजका हरेक व्यक्तिका अनुभव र योगदानलाई अभिव्यक्त गर्न सक्दा यस्ता पुस्तक तयार हुने उल्लेख गर्दै उनले लेखकलाई आगामी लेखन यात्राका लागि शुभकामना दिए ।
नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य श्रृष्टि भट्टराई प्रमुख अतिथि थिए ।
















Discussion about this post