इटहरी : नेपाली सांगीतिक समूह नेपथ्यको पहिलो प्रत्यक्ष कन्सर्टका लागि इटहरीमा दर्शकको चासो देखिएको छ । कात्तिक १८ गते इटहरी रंगशालामा हुने कार्यक्रमका लागि अहिलेसम्म करिब तीन हजार टिकट बिक्री भइसकेका छन् ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । पूर्वाञ्चल इभेन्ट्स प्रालिका अध्यक्ष राजकुमार कार्कीका अनुसार करिब १० हजार दर्शक अटाउने गरी रंगशालामा व्यवस्थापन गरिँदैछ । मञ्च निर्माणको काम अक्टोबर ३० देखि सुरु हुनेछ ।
कार्कीका अनुसार इटहरीमा नेपथ्यको यो पहिलो प्रस्तुति हो । समूहसँग भएको कुराकानीमा यहाँ फेरि कार्यक्रम नहुन पनि सक्ने संकेत आएको उनले बताए । यद्यपि, इटहरीमा पुनः प्रस्तुति दिने वा नदिने भन्ने विषयमा समूहको औपचारिक निर्णय सार्वजनिक भएको छैन ।
कार्यक्रमका लागि सर्वसाधारणतर्फ एक हजार पाँच सय रुपैयाँ र विद्यार्थीका लागि एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
विद्यार्थी सहुलियतमा टिकट लिनेले प्रवेशका बेला मान्य विद्यार्थी परिचयपत्र देखाउनुपर्नेछ । टिकट अनलाइन तथा प्रत्यक्ष बिक्री केन्द्रबाट उपलब्ध गराइएको र अहिले सीमित टिकट मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।
नेपथ्यको आधिकारिक कार्यतालिकाअनुसार कन्सर्टका दिन अपराह्न ४ बजे प्रवेशद्वार खुल्नेछ भने साँझ ६ बजेदेखि प्रस्तुति सुरु हुनेछ ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा सक्रिय नेपथ्यले लोकभाकालाई आधुनिक वाद्यवादनसँग जोड्दै आफ्नो छुट्टै पहिचान बनाएको छ । ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ जस्ता गीतमार्फत लोकप्रिय बनेको समूहका गीत विभिन्न पुस्ताका श्रोतामाझ परिचित छन् ।
इटहरीमा पहिलोपटक हुन लागेको कन्सर्टले स्थानीय संगीतप्रेमीलाई नेपथ्यका चर्चित गीत प्रत्यक्ष सुन्ने अवसर दिनेछ ।















Discussion about this post