सुनसरी : तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् ।
आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन । तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन् ।
धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए ।
विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ । सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ ।
चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन् । उनले तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्री गर्दै आएको उल्लेख गरे ।
पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन् । आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ । उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन् ।
धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए । विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल राखिएका छन् ।
अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ । लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उनले बताए । उनका अनुसार कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ ।
भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आउनुभएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको जानकारी दिए । देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनको भनाइ छ ।
यसैगरी, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन् । उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ । तिहारको समयमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको उनले बताए ।
तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ ।















Discussion about this post