इटहरी उपमहानगरपालिका क्षेत्रमा पाँच सय बेड क्षमताको अस्पताल बन्ने प्रस्ताव अघि सारिएको छ ।
इटहरीका सरोकारवाला निकायहरूको छलफलबाट अस्पताल निर्माण कार्य अगाडि बढाउने प्रस्ताव अगाडि सारिएको हो ।
श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका उपाध्यक्ष हेम घिमिरेले पाँच सय बेड क्षमताको अस्पताल निर्माणको प्रस्ताव अगाडि सारेका हुन् । घिमिरेको नेतृत्वमा श्री प्राणनाथ मल्टी स्पेसियालिटि हस्पिटल तथा रिसर्च सेन्टर (प्राणनाथ हस्पिटल) बनाउने सम्पूर्ण सरोकारवालाले सहमति जनाएका छन् ।
सरकारी अस्पताल सरह नै सेवा शुल्क रहने तथा उच्चस्तरीय सेवा उपलब्ध गराइने प्रस्तावमा उल्लेख गरिएको छ ।
अस्पताल निर्माणको प्रस्ताव आएसँगै मेयर द्वारिकलाल चौधरीले त्यसको स्वागत गरेका छन् । सोही प्रस्तावको आधारमा मेयर चौधरीले अस्पताल निर्माणको लागि बृहत् छलफल कार्यक्रमको आयोजना गरेका हुन ।
केही समय अगाडि इटहरी नगर कार्यपालिका बैठकबाट इटहरी वाड नं. १०, ११ मा पर्ने १० बिघा जग्गा उपलब्ध गराउने निर्णय गरिएपनि उक्त जग्गा प्रणामी समाजद्वारा अनुपयुक्त भएको जानकारी पश्चात् थप छलफलका लागि यो भेलाको आयोजना गरिएको हो।
छलफलबाट उपयुक्त स्थान छनौट र जग्गा खोजीको लागि मेयर चौधरीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी अघि बढ्ने निर्णय भएको छ ।














Discussion about this post