यसपालिको दशैं, न त त्यो उत्साहको दशैं भयो, न त त्यो उमङ्गको दशैं रह्यो । यो त एउटा आँधीपछि बाँकी रहेको सन्नाटा जस्तै भयो । आकाशमा बादल मडारिएका थिए ।
मनमा निराशाका धर्साहरू कोरिएका थिए । वर्षा ऋतुको अन्त्य भइसक्दा पनि दशैंको स्वागत गर्न शारदीय आकाश खुल्न सकेन ।
बरू झमझम झरी परिरह्यो, जुन आँखाबाट बगेका दुःखका आँसुजस्तै लाग्थ्यो । बाटाघाटा, गल्लीहरू हिलाम्य भए, जसरी जीवनका बाटोहरूमा पीडाका हिलोले भरिएका छन् ।
दशैं त खुसीको पर्व हो, तर यसपालि कतिले यो पर्व शोकमा मनाए, कतिले भोकमा । आगोले डढेको खरानीमा मुस्कान खोज्दै, उजाडिएको बस्तीमा खुसीको रङ भर्न खोज्दै यो दशैं मनाउनै प¥यो ।
अग्निज्वालाले खरानीमा परिणत भएका घरहरूमा फेरि एकपटक आशाको दियो बाल्न खोज्नुपर्ने बाध्यता थियो । वर्ष दिनपछि आएको दशैंलाई निराश भएर मात्रै कसरी टिक्नु र !
चाड मान्न घर जानेहरूका लागि यात्रा पनि कहाँ सहज भयो र ! बल्लतल्ल पाएको टिकटले मनमा अलिकति भए पनि खुसीको सञ्चार गरेको थियो । तर त्यो खुसी पनि क्षणिक साबित भइदियो ।
बाढीले बाटो बगाइदियो, जसरी जीवनको बाटोमा आएका दुःखले खुसीलाई बगाइदिन्छ । कहिले शोक त कहिले भोक, कहिले बाढी त कहिले आगलागी; यसपालिको दशैंले हामीलाई सिकाएर गयो कि जीवनमा जस्तोसुकै अँध्यारो आए पनि, आशाको झिल्कोलाई निभाउन दिनुहुँदैन ।
यसपालिको दशैं मानौँ कुनै पौराणिक आख्यानमा वर्णन भएको ‘दुःखान्त कथा’ जस्तै आयो । शारदीय आकाश, जुन प्रायः उज्यालो घाम र सफा नीलोपन लिएर अँध्यारो गाउँघर झलमल्ल पारिदिन्थ्यो ।
सेतो कमेरोले पोतेको र रातोमाटोले लिपेको घर पानीले पाखालेको थियो । भर्खरै बनाएको बाटो बाढीले बगाएको थियो ।
यसपालि झमझम वर्षाले बिगार गर्नुसम्म गरिदियो । बाटाघाटाहरू हिलाम्य भए, चौरहरूमा पिङका बाँस त गाडिए तर पिङमा मच्चिने ज्यान उपस्थित भएनन् ।
घर फर्किन आतुरहरूको यात्रा पनि सजिलो कहाँ थियो र ! बल्लतल्ल हात परेको टिकट, त्यसमाथि बाढीले बाटै बगाइदिने दुर्भाग्य ! यात्रुहरूको मुहारमा शोक, रिस, थकान सबै मिसिएको थियो ।
कोही बसमा अलपत्र, कोही पैदलै खोल्सामा छाल पार्दै, कोही त बाटैमा रोइरहेका भेटिन्थे । दशैंकै बेला आफ्नो घर पुग्ने नपाउने पीडा भन्दा ठूलो पीडा यात्रुका आँखामा अरू के होला ?
कसैको घरमा शोक थियो, कसैको पेटमा भोक थियो । तैपनि, निराशाको अँध्यारोभित्र कतै न कतै सानो आशाको दियो बालेर बडा दशैं मनाइयो ।
खरानी बनेको खण्डहरबीच पनि मुस्कान खोज्ने मान्छेहरूको संघर्ष अद्भुत लाग्थ्यो । दैवी प्रकोपले सारा गाउँ–सहर हल्लाएको भए पनि, आँगनमा बली चढाउने बेला बाजा बज्यो, पीडाको गाम्भीर्य मिसियो । बालबालिकाले आफ्नो भिजेको टीका पनि गर्वसाथ देखाए ।
यसपालि दशैं उत्सव भन्दा बढी धैर्यको पाठजस्तो रह्यो । यसपालि देवीको आराधनाभन्दा बढी पीडाको सामना गर्ने हिम्मतजस्तो रह्यो । तर, त्यसैभित्र एउटा गहिरो सौन्दर्य पनि थियो – मान्छेको एक–आपसमा हात थाम्ने संस्कार ।
कसैले चुलो बाल्न सक्दैन भने छिमेकीले अन्न बाँडे, कसैको घर भत्क्यो भने गाउँलेहरूले साथसहयोग गरिदिए, कसैलाई बाटोले रोके भने साथीसँगै पैदलै उक्लिए । तर, यो अविस्मरणीय दुखाइको पीडा सजिलै कहाँ बिर्सिन सक्नु र ?!
दशैं हरेक वर्ष आउँछ, जाने गर्छ । तर यो वर्ष, यसले हामीलाई सम्झाइदियो– दशैं केवल भोग र भोजको नाम होइन,
यो त विपत्तिबीच पनि उठ्न सक्ने आत्मबलको उत्सव हो ।
आफ्नो घर पुग्न नसके पनि, आँगन पुग्न ढिलो भए पनि, मनमा आशा र आँखामा उज्यालो रहुञ्जेल दशैं सधैं हाम्रो छातीमा आउँछ, र हामीलाई फेरि–फेरि जिन्दगीमा प्रेम गर्न सिकाउँछ ।
यसपालिको दशैं मानौँ बर्सेनि आउने त्यो रमाइलो रंगीन उत्सव नभई दुःख र संघर्षको घेरामा आएको चाडजस्तो लाग्यो । त्यसो त गत वर्ष पनि दशैंअघि भारी वर्षाले ठूलै क्षतिको सामना गनुप¥यो ।
तर यसपालि दशैंको मध्यमासमा शारदीय आकाश खुल्नै सकेन । निरन्तर झमझम वर्षाले बाटा–घाटा हिलाम्य पारिदियो । खेतमा सुनौलो धान झुकेर झुलिरहेको थियो । तर त्यो सुनौलोपन पनि पानीको बोझले उदासी देखिन्थ्यो ।
गाउँको चौतारीमा उभिएको पीपल–वर पनि चुपचाप भिजिरहेको थियो । चौतारी, जहाँ दशैंका बेला गीत–संगीत, नाच–गान र हाँसोको झिल्को झुल्किन्थ्यो । यसपालि वर्षाले दैलोमा आग्लो लगाइदिए जस्तो सुनसान रह्यो ।
तर पनि कतै–कतै गाउँलेहरू भिजेको लिङ्गोबीच पिङ मच्चाइरहेका देखिन्थे । मौसमले विरमाइलो पारिदिए तापनि मन्द, मधुर हाँसोको चमक भने केही मान्छेका अनुहारमा झल्किन्थ्यो ।
तथापि, दशैं आफ्नै जन्म घर पुगेर मात्र पूरै दशैं हुने हो । बल्लतल्ल हात परेको टिकटमा सहरका दाजुभाइहरू आफ्नो घर फर्किन खोजे तर बाढीले बाटो बगाइदियो । कोही ढिलै भए पनि पैदल यात्रा गरेर गाउँ पुगे, कोही अझै बाटोमै अलपत्र परे । त्यो पीडादायी यात्राले दशैंलाई हर्षोत्सवभन्दा बढी आँसु मिसिएको स्मृति बनाइदियो ।
यद्यपि, दशैंको सुगन्धलाई कुनै विपत्तिले पूरै मेटाउन सक्दैन । गाउँघरमा ढोल–मादलको ताल बज्यो, झरीबीच पनि धुन गुञ्जियो ।
आँगनमा टीका–जमराको कार्यक्रम हुँदा, कोही शोकमा, कोही भोकमा भए पनि आशाको उज्यालो फैलियो । जसको घरमा दाउरा सकियो, छिमेकीले बाँडे । जसको अन्न भिजेर नष्ट भयो, गाउँलेहरूले सँगै उठाएर खुवाए ।
यसपालि दशैंले हामीलाई सम्झाइदियो – चाड केवल भोज र भोगको नाम होइन, यो त साझा पीडा बाँड्ने, आँसु पुछ्ने, भुइँमा ढले पनि फेरि उठ्ने आत्मबलको उत्सव हो ।
धान झुकेको बारीले भन्यो – ‘विपत्ति आयो भने झुक्नुपर्छ, तर फल दिन छाड्न हुँदैन ।’
चौतारीले भन्यो – ‘तिमीहरू थाक्दा यहाँ आउनू, सँगै बसौँ, सँगै उठौँ ।’
पिङले भन्यो – ‘पानीले भिजाए पनि, रमाइलो गर्न सकिन्छ ।’
मादलले भन्यो – ‘दुःखको स्वरलाई पनि तालमा बदल्न सकिन्छ ।’
अन्ततः, दशैंले फेरि देखाइरह्यो– अग्नीको खरानीभित्र पनि मुस्कान भेटिन्छ । आँसुभित्र पनि आशा पलाउँछ र जीवनलाई प्रेम गर्न सक्ने शक्ति सधैं हामीभित्र नै हुन्छ ।
यो दशैं निराशाको बीचमा पनि आशा खोज्ने, पीडाको बीचमा पनि खुसीको अनुहार हेर्ने एउटा अनौठो कथा बन्यो । यो चाड मनाउने हाम्रो साहसलाई सलाम !
















Discussion about this post