इटहरी (डेस्क) : सुनसरी र उदयपुरका बिभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेट र ठूलो परिणामको गाँजा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ जलजलेबाट त्रियुगा १ का ३२ बर्षीय बिदुर अधिकारी, त्रियुगा १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा १३ का २५ बर्षीय सागर चौधरी र सुनसरीका २५ बर्षीय अभिषेक जैसवाललाई लागूऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।
यस्तै, उदयपुरकै त्रियुगा १२ बाट स्थानीय १५ वर्षीय बालक लागूऔषध सहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, उदयपुरकै कटारी नगरपालिका ८ बाट ठूलो परिणामको गाँजा सहित तीन जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारीतर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १ सय २१ केजी गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका ३ का ४१ बर्षीय सन्त बहादुर मगर, चालक २१ बर्षीय हेम बहादुर मगर र शम्भु मगरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, भोजपुरको हतुवागढी गाउँपालिका ६ घर भई सुनसरीको धरान उपमहानगरपालिका १३ डेरा गरी बस्ने ३४ बर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् ।
राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post