इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ३ मा रहेको सुनौलो टोलको बस्ती नै कोरोना संक्रमित भएको आशंका गरिएको छ । इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाले बस्ती नै कोरोना संक्रमणको उच्च जोखिममा रहेको जानकारी दिए ।
‘टोलका धेरै मानिसहरु बिरामी भएको भन्ने सूचना पाएलगत्तै इटहरी उपमहानगरपालिकाका प्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोली बस्तीमा पुगेर अनुगमन गरेको थियो,’ धमलाले भने, ‘हामीले सोमबार नौ जनाको एन्टिजीन परीक्षण गरेमध्ये आठ जनाको पोजेटिभ रिपोर्ट आएको छ, अन्य मानिसहरुले परीक्षण गर्नै मानेनन् ।’
बस्तीका बासिन्दाले अत्यधिक हेलचेक्राईँ गरेका कारण सो बस्ती नै कोरोनाको उच्च जोखिममा रहेको उनले बताए ।
इटहरी ३ को सिंहबाहिनीको चौकभन्दा केही पूर्वमा पर्ने उक्त बस्ती बाढीप्रभावित क्षेत्र हो । २०७४ सालको बाढीले यहाँका नौ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घर बाढीले बगाउँदा गाउँ नै उजाड बनेको थियो ।
हाल उक्त बस्तीमा करीब एक सय २० घरपरिवार बसोबास गर्दै आएका छन् । ‘एकै टोलका सातघरमा पच्चीस जना बिरामी भएको भन्ने सूचना पाएपछि हामी बस्तीमा औषधी लिएर पुगेका थियौँ,’ धमलाले टाकुरासँग भने, ‘अलिक बढी नै जोखिम मोलेर हामी पनि त्यो बस्तीमा पुग्यौँ, हेलचेक्राईँ गरेका कारण कोरोना फैलिएको आशंका गरिएको छ ।’
उनका अनुसार इटहरीमा कोरोना परीक्षण गर्नेमध्ये ९० प्रतिशत भन्दा बढीलाई संक्रमण देखिएको छ । इटहरीमा हालसम्म ११५३ जना कोरोना संक्रमित पुगेका छन् भने तीन सयजना निको भएका छन् । त्यस्तै, मृतकको संख्या १४ पुगेको छ । ‘इटहरीमा परीक्षणको दायरा नै थोरै छ, मृत्युको संख्या पनि जनसंख्याको हिसाबमा धेरै हो,’ उनले भने, ‘त्यहाँका दुईजनालाई इटहरी रंगशालाको आइसोलेसनमा राखिएको छ भने बस्ती सिल गरिएको छ ।’
उनका अनुसार इटहरीका चारजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । इटहरी रंगशालामा दिनमा पचासदेखि ८० जनाको परीक्षण गरिने र ती मध्ये ९० प्रतिशत भन्दा धेरैमा संक्रमण देखिएको उनले बताए । ‘परीक्षण गर्ने हो भने इटहरीका भित्री क्षेत्रमा पनि संक्रमण देखिन सक्छ,’ धमलाले भने, ‘इटहरी कोरोनाको उच्च जोखिममा छ, अब आफैँ सचेत हुने बेला आएको छ ।’
इटहरी ३ का वडाध्यक्ष बालकृष्ण विष्टका अनुसार बाढीपीडित क्षेत्रका बासिन्दाले कोरोनाको प्रवाह नगरी हेलचेक्राईँ गरेका कारण कोरोना संक्रमण बढेको हो । प्रायजसोः धेरैजना होम आइसोलेसनमै रहेका भएपनि सामाजिक दूरी कायम नगर्ने, स्वास्थ्य सामाग्री प्रयोग नगर्ने जस्ता कुरालाई मध्येनजर गरेर सो क्षेत्र सिल गरिएको विष्टले बताए । ‘इटहरी वडा नं. ३ मा धेरैजसो मानिसहरु बिरामी छन्,’ विष्टले भने, ‘सबैमा ज्वरो, झाडापखला र वान्ता आउनेजस्ता एकै किसिमका लक्षण छन् ।’
सो क्षेत्रका बासिन्दा पीसीआर परीक्षण नै गर्न नमान्ने भएका कारण पनि स्थानीय तहले समन्वय गरिरहेको बताउँदै विष्टले भने, ‘सुनौलो टोलका मात्रै नभई अन्य क्षेत्रमा पनि उत्तिकै जोखिम छ, आवश्यक समन्वय गरेर काम गरिरहेका छौँ ।’
यो पनि – इटहरीको सुनौलो टोल सिल
यो पनि – इटहरीमा एकै टोलमा सात घरका २५ जना बिरामी, ४ जनाको पीसीआर परीक्षण














Discussion about this post