मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा सुतेकै ओछ्यानमा एक पुरुषको बीभत्स हत्या भएको छ ।
सुतेका बेला धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा –३ का ४० वर्षीय विष्णु ऋषिदेवको शव आज (शुक्रबार) बिहान फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको आशङ्का छ ।
उनका अनुसार हत्या भएको खवर प्राप्त गरेर प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको शव भेटिएको हो । पूरै शरीर कपडाविहीन रहेका मृतकले कम्मरमुनि कट्टु भने लगाएका छन् । राईले घटनास्थल रगताम्य रहेको जानकारी दिए । घटनाको प्रकृति हेर्दा निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएजस्तो देखिने राईको भनाइ छ ।
घटनाको यथार्थ अनुसन्धानपछि खुल्दै जाने उनले बताए । गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान थालिएका कारण घटनाको वास्तविकता चाँडै पत्ता लाग्ने उनको भनाइ छ ।
यो पनि – मोरङमा घाँटी रेटेर महिलाको हत्या, श्रीमान, सासुससुरा र देवर पक्राउ














Discussion about this post