ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आज (आइतबार) बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मानेभन्ज्याङ गाउँपालिका १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दुर्घटना भएको हो ।
जीपमा सवार ६ जनामध्ये तीनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेम मगर रहेका छन् ।
सिनपा १ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post