इटहरी : स्वरसम्राट् नारायणगोपालको स्मृतिमा आयोजित साहित्यिक तथा सांगीतिक कार्यक्रम ‘नझरेका फूलहरू’मा कवि तथा प्राज्ञ रोशन परियारले आफ्ना आधा दर्जन कविता वाचन गरेका छन् ।
मङ्सिर महिनाभर विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सञ्चालन गर्ने क्रममा दोस्रो शनिबार आयोजित कार्यक्रममा धनकुटाका परियारले आफ्ना चर्चित तथा श्रोताले रुचाएका कविता सुनाएका हुन् ।
सोही अवसरमा विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले परियारलाई बधाईपत्रसहित सम्मान गरेका छन् । सुन्दरहरैँचा, बेलबारी र केराबारीमा क्रियाशील आठ संस्थाका तर्फबाट प्रदान गरिएको बधाईपत्र कार्यक्रमका कम उमेरका श्रोता सजल श्रेष्ठले परियारलाई हस्तान्तरण गरेका थिए ।
स्रष्टालाई सम्मान गर्ने यस्तो शैली नेपालमै पहिलो भएको कार्यक्रममा सहभागी सर्जकहरूले बताएका थिए ।
कार्यक्रममा गायक सञ्जीव धिमालले ‘तिमीलाई म के भनूँ’ र ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ तथा युवा गायक हिमाल दर्नालले ‘कसरी म भुलेँ केमा म भुलेँ’ र ‘लौ सुन म भन्छु मेरो रामकहानी’ गीत प्रस्तुत गरेका थिए । झापाकी कवयित्री रेखा दासले पनि तीन कविता वाचन गरेकी थिइन् ।
नारायणगोपालको स्मृति दिवस मङ्सिर १९ गते भए पनि उनको योगदानको स्मरणमा महिनाभर कार्यक्रम आयोजना गरिएको ‘नझरेका फूलहरू’का परिकल्पनाकार तथा संस्थापक केपी घिमिरेले बताए ।
घिमिरेले आफ्नै पहलमा विसं २०७१ देखि स्रष्टा सम्मान, पलेँटी शृङ्खला र सांगीतिक प्रस्तुतिसहित कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ‘शब्दाञ्जलि’ नाम दिइएको कार्यक्रममा साहित्यकार पुरन याक्खा प्रमुख अतिथि थिए भने युवा व्यवसायी तथा समाजसेवी उत्सव थापाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको आगामी शृङ्खलामा धरानका गायक कृष्णराजा श्रेष्ठ र गायिका मेरी शाक्यले प्रस्तुति दिने आयोजकले जनाएको छ । यसअघि पहिलो शृङ्खलामा कवि मुकुन्द प्रयासले कविता वाचन गरेका थिए ।
















Discussion about this post