इटहरी : इटहरीमा मोटरसाइकल चोरीमा संलग्न रहेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार विभिन्न मितिमा चोरीमा रहेका मोटरसाइकलसहित तीनजनालाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका १२ घर भई हाल इटहरी ८ गैसारमा डेरा गरी बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, इटहरी २० तरहराका २४ वर्षीय सरोज कार्की र मोरङको मिक्लाजुङ गाउँपालिका ५ का २८ वर्षीय पुजन भन्ने अजित श्रेष्ठ रहेका छन् ।
‘पक्राउ परेकामध्ये गिरोहको नाइके रहेछन्, उनीहरूको एउटै समूह रहेको खुलेको छ,’ डीएसपी खड्काले टाकुरासँग भने, ‘तीनै जनालाई इटहरी क्षेत्रबाट मोटरसाइकलसहित पक्राउ गरिएको हो, पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार गत कार्तिक ९ गते इटहरी ६ स्थित आर.सि.टी.मार्केट नजिकै पार्किङ गरी राखेको नवीन बोगटीको को १५ प २९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । यस्तै, फागुन १२ गते बिहीबार इटहरी ६ स्थित इटहरी मेडिकल नजिकै पार्किङ गरी राखेको को ३६ प ९६४ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
पक्राउ परेका उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडि बढाइएको उनले बताए ।
यस्तै, इटहरी उपमहानगरपालिका २० तरहराबाट एकैरात दुईवटा मोटरसाइकल चोरी भएको छ ।
स्थानीय सुमन रेग्मीको प्रदेश १–०२–४५ प १०० नम्बरको पल्सर (रातो कालो) मोटरसाइकल र स्थानीय सुमन दाहालको प्रदेश १–०२–४५ प ३६८३ नम्बरको (एफजेठ) मोटरसाइकल चोरी भएको हो ।
राति ११ बजेदेखि २ बजेको समयमा मोटरसाइकल चोरी भएको प्रारम्भिक अनुमान गरिएकाले खोजी तीव्र पारिएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post