खोटाङ : खोटाङमा एक शिक्षकमाथि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले दुर्व्यवहार गरेको छ ।
जिल्लाको खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई बुधबार (आज) सार्वजनिकस्थलमा कालो मोसो दल्दै जुत्ताको माला लगाइएको हो ।
राई लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको अनेरास्ववियु क्रान्तिकारीको आरोप छ ।
क्रान्तिकारी प्रदेश समिति सदस्य तावेल राईका अनुसार उनलाई सुध्रनका लागि पटक पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरेकाले कारबाही गरिएको हो ।
अनेरास्ववियु क्रान्तिकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङ भञ्ज्याङस्थित कोठाबाट बाहिर निकालेर सार्वजनिकस्थलमा दुर्व्यवहार गरेको हो ।
विगत आठ वर्षदेखि प्रधानध्यापकको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र जिम्मेवारीबाट हटाइएका थिए ।
खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले शिक्षकमाथि दुव्र्यवहार भएको बखर आएको र यस विषयमा बुझिरहेको प्रतिक्रिया दिए।














Discussion about this post