इटहरी : सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी, व्यवसायी र मजदुरले आन्दोलन गरेका छन् ।
उनीहरूले कोशी राजमार्ग अन्तर्गत हुलास वायर अगाडि विराटनगर–इटहरी सडकखण्ड अवरुद्ध गर्दै आन्दोलित बनेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले आन्दोलनको चेतावनी दिएका थिए । उद्योगी व्यवसायीसँगै दर्जनौँ मजदुरले सडकमा उत्रिएर आन्दोलन गरेका हुन् ।
गत २२ मे २०२२ बाट भारत सरकारले आफ्नो मुलुकमा फलामजन्य सामाग्रीको बढ्दो मूल्य नियन्त्रण गर्न कच्चा पदार्थ अर्थात् एमएस वायर रडको निर्यातमा १५ प्रतिशत अन्तःशुल्क लगाएको थियो ।
नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटबाट भन्सार महसुलमा ५ बाट १० प्रतिशत तथा अन्तःशुल्कमा २ हजार ५०० बाट ४ हजार ५०० प्रति मेट्रिक टन कायम गरेकाले नेपाली उद्योगहरु धरासायी बन्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उद्योगीहरूले वनस्पति घ्यू–तेल उद्योगमा पनि अहिलेको बजेटले प्रभाव पारेको बताएका छन् ।
यसअघि वनस्पति घ्यू, तेल उद्योगको कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र प्रशोधित तेलमा एक तह माथि १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा आर्थिक वर्ष २०७९/०८० को बजेटबाट प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भन्सार महशुल अर्थात् ६६.६७ प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ ।
यस्तै उद्योगीहरूले सेनेटरी प्याड उत्पादन गर्ने उद्योगमा पनि बजेटले बन्द हुने अवस्थामा पु¥याएको उद्योगी पवन सारडाले बताए ।
‘सेनिटरी प्याड उत्पादन गर्ने उद्योगहरूले प्याकिङ मेटेरियलमा ३० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तःशुल्क र कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसुल तिरी उत्पादन गर्दै आएका छन्,’ उनले भने, ‘सरकारबाट हालै प्रस्तुत बजेटबाट तयारी वस्तु (सेनिटरी प्याड) को आयातमा भन्सार महसुल १५ प्रतिशतमा ९० प्रतिशत घटाइ १.५ प्रतिशत कायम गरिएको छ । जसका कारण स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गरी बिक्री वितरण गर्दा सस्तो पर्न जान्छ । यसबाट स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।’
आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायी र मजदुरले अर्थमन्त्री जनाद्र्धन शर्माको राजीनामा समेत मागेका छन् । उनीहरूले जनताको करले सीमित उद्योगी पोस्न पाइँदैन, बजेट भाषण संशोधन गर, टेम्प्रेचर मिटरको कालोबजारी गर्नेलाई पोस्न बन्द गर, ढुकुटीको डलर लुटाउन पाईँदैन, निर्यातको अन्तःशुल्क रकम फिर्ता गर, कच्चा पदार्थमा अन्तशुल्क लिन पाईँदैन लगायतका नारा लगाउँदै प्रदर्शन गरे ।
प्रदर्शनका कारण करीब २ घण्टा सडक अबरुद्ध भएको थियो । अहिले पुनः सडकमा सवारी आवतजावत सुरु भएको छ ।














Discussion about this post