मोरङ : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनील शर्माले एकैदिन तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
मोरङ क्षेत्र नं. ३ का छुट्टाछुट्टै तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
डा. शर्माले बेलबारीका दुई र पथरीशनिश्चरेको एक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा विपन्न विरामीलाई गाउँमै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । उनले यसअघि पनि यो क्षेत्रका जनतालाई स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएका छन् ।
पथरीशनिश्चरे १ मा छाती तथा फोक्सो रोग र स्त्री रोग सम्बन्धि शिविर सञ्चालन गरिएको छ । शिविरमा नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहितका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा १५१ जनाको इसीजी, १५२ जनाको रक्त परीक्षण र १९३ जनाको भिडियो एक्सरेसहित ५७४ जनाको स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।
त्यस्तै, मुटुरोगीलाई लक्षित गर्दै बेलवारी ४ बुधबारेमा शिविर सञ्चालन गरिएको छ । विरामीको स्वास्थ्य परीक्षणका लागि नोबेलका मुटुरोग बिशेषज्ञ डा. राजेश नेपाल नेतृत्वको डाक्टरहरूको टोली शिविरमा गएको थियो । त्यहाँ १२१ जनाको मुटुको जाँच गरिएको छ ।
यस्तै, बेलबारी ९ डाँगीहाटमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ३७५ जनाको स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ ।
पथरीशनिश्चरेको शिविरबाट ४४ जना र बेलबारी ४ को शिविरबाट ५५ जना बिरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरूलाई नोबेल अस्पताल ल्याउने र उपचारपश्चात घर पुर्याउने व्यवस्था पनि डा. शर्माले नै मिलाइदिएका छन् ।














Discussion about this post