विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले मोरङको पथरीशनिश्चरे ८ सोमबारेका बृद्ध कालीचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् ।
विपन्न परिवारका ७२ वर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।
स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालीचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखिएको थियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन ।
कालीचरणका छोरा बैदेशिक रोगजारीका लागि भर्खरै दुबई गएका छन्, विदेश जाँदा लागेको ऋण पनि तिर्न नसकेको पीडित परिवारले बताएपछि डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।
विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भएको बताइएको छ । बाँकी सम्पूर्ण उपचार खर्च डा. शर्माले निःशुल्क गराइदिएका हुन् ।
पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा. शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामी कालीचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् ।
‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनील सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउँनु भयो,’ चौधरीले भनिन् ।
उपचारका क्रममा करिब एक साताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।















Discussion about this post