इटहरी : इटहरीमा अवैध रूपमा नेटवर्र्किङ व्यवसाय गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार ग्लोबल ओरियन्स नामक कम्पनीबाट नेटवर्किङ व्यवसाय गरेको आरोपमा ६ जनालाई सोमबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएकी सचिता राई र सुन्दरहरैँचा नगरपालिका घर भएका सञ्जीव माझी रहेका छन् । अन्य चारजना भने कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
‘पक्राउ परेकाहरूमाथि बुझ्ने क्रममै छौँ,’ खड्काले भने, ‘कम्पनीमार्फत विभिन्न व्यक्ति बोलाएर पैसा हुन्छ लगानी गर्नु भन्दै प्रलोभन देखाउने गरेको सूचनाका आधारमा पक्राउ गरेका हौँ ।’
कम्पनीले केही समययता इटहरी ९ मा रहेको साथी पेट्रोल पम्प नजिकै एक कोठाभाडा लिएर विभिन्न औषधी तथा विभिन्न कम्पनीका सामग्री बिक्री गर्ने गरेको खड्काले जानकारी दिए ।
प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्थानीय तथा आम नागरिकलार्ई आर्थिक प्रलोभन देखाएर थोरै लगानी गरी धेरै कमाउन सकिने भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिव्यक्ति १५ हजारदेखि एक लाखसम्म रकम लिएको पीडितले प्रहरीमा जानकारी गराएका छन् ।
‘जति धेरै सदस्य बनायो त्यति धेरै पैसा कमाइन्छ,’ ‘विदेशमा घुम्न जान पाइन्छ,’ जस्ता प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलेको छ ।
हालसम्म इटहरी प्रहरीमा १० जना पीडित आएको र अनुसन्धानको क्रम अगाडि बढाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।














Discussion about this post