ओखलढुंगा : शिक्षक हत्याको आरोपमा २२ वर्षीया युवती पक्राउ परेकी छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका( ५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दीपककुमार ठाकुरको हत्या हत्या गरेको अभियोग छ ।
ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।
शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा घटनामा युवतीको संलग्नता पुष्टि हुने आधार भेटेपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए ।
ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपिट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post