मोरङ : मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले आफ्ना क्षेत्रका बासिन्दाका लागि विराटनगरस्थित नोबेल अस्पतालमा निःशुल्क रूपमा ५० शय्याको क्याबिन सञ्चालनमा ल्याएका छन्।
कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै सांसद शर्माले निःशुल्क रूपमा क्याबिन सञ्चालनमा ल्याएका हुन्। क्याबिनको आइतबार शुभारम्भ गरिएको छ।
अस्पतालको तेस्रो तलामा रहेको उक्त क्याबिनमा मोरङ–३ का बासिन्दाले निःशुल्क उपचार सुविधा पाउने नवनिर्वाचित सांसद शर्माले बताए। बिरामीलाई एउटा कोठामा २ वटा बेड राखेर उपचार गरिने अस्पताल प्रशासनले जनाएको छ।
शर्माले मतदाताको घरदैलोमा जाँदा आफूले मोरङ–३ का मतदाताको स्वास्थ्यका लागि विशेष सहुलियत दिइने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुरूप उनले अस्पतालमा क्याबिन सञ्चालनमा ल्याएका हुन्।
प्रतिनिधिसमा सदस्य निर्वाचनमा शर्मा ४८ हजार ६३१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत पाएका थिए।














Discussion about this post