धरान : धरानकी कवि करुणा राईको नयाँ कविता सङ्ग्रह ‘रसिया राग’ माथि चर्चा गरिएको छ ।
शनिबार धरानमा एक कार्यक्रमको ओयोजना गरी कवि राईको सङ्ग्रहमाथि चर्चा गरिएको हो ।
कलरव धरानले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ कवि बम देवानले करुणाका कवितामा गाउँलेपन आउने बताए ।
‘गाउँको भावना जीवन्त भएर कवितामा आएको छ,’ उनले भने, ‘पछिल्लो समय नारी हस्ताक्षरमा करुणाको सशक्त उपस्थिति छ ।’
कार्यक्रममा कवि मनु मञ्जिलले कवितामाथि बोलेका थिए ।
‘कवि सरल नै वा जटिल नै हुनुपर्छ भन्ने हुँदैन,’ उनले भने, ‘सरल र जटिल दुवै किसिमका कविताहरू राम्रा हुन्छन् ।’

करुणाको सङ्ग्रहमा प्रेमिल कविता सङ्ग्रहित रहेको मञ्जिलले बताए । ‘जसरी लेखिनुपथ्र्यो, त्यसरी नै कविता लेखिएका छन्,’ उनले भने, ‘अहिलेका कविहरू कुनै इस्स्युमा मात्रै लेख्छन्, मान्छे बाझेजस्तो कविता मात्रै लेखिनु दुःखद हो, यो सङ्ग्रहमा त्यस्ता कविता छैनन् ।’
कवितामा ज्ञान मात्रै लेख्ने नभइ कलाको ‘इमोसन’ हुनुपर्ने उनको तर्क छ ।
कवि सन्तोष थेबेले भने, ‘करुणा जी गाउँले जीवनका भोगाइ लेख्नुहुन्छ, उहाँले प्रयोग गर्नुभएका भाषाको प्रयोगले म हर्षित छु ।’
कार्यक्रममा कविताका भिडियोहरू पनि प्रस्तुत गरिएको थियो । वीरेन सुब्बाले सहजीकरण गर्दै कवितालाई भिडियोमार्फत प्रस्तुत गरिदाँ आमान्त्रित अतिथिहरू एकत्रित बनेका थिए ।

कवि सुदीप पाख्रिनका अनुसार करुणाको कविता सङ्ग्रहमा ४९ वटा कविता समावेश छन् । एक वर्षअघि नै सङ्ग्रह प्रकाशित गर्ने भनिएपनि विविध कारणले ढिलाइ भएको उनले बताए ।













Discussion about this post