मोरङ : मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पताललाई प्रयोग गर्नेगरी सम्झौता भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोसी अस्पताल प्रयोग गर्नेगरी त्रिपक्षीय सम्झौता भएको हो ।
मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोसी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्नेगरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माले जानकारी दिए ।
‘कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउने गरी सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्छौ ।’
सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
यसअघि ०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो । सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रीपरिषद बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो ।
मन्त्रीपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर थप प्रक्रिया अगाडि बढाइएको हो ।
मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान छ । तर, पूर्वाञ्चल विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल छैन ।
सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा विद्यार्थीले विराटनगरस्थित कोसी अस्पतालमा अभ्यास गर्नेगरी सम्झौता गरिएको हो ।
विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ ।














Discussion about this post