इटहरी : नेपाल जेसीजको आयोजना तथा इटहरी लेडी जेसीजको आतिथ्यतामा ‘क्षेत्र क अध्यक्ष भेला’ सम्पन्न भएको छ ।
कोसी प्रदेश र मधेस प्रदेश ‘क्षेत्र क’ अन्तर्गतका ४३ शाखाका अध्यक्षहरूको सहभागितामा शनिबार इटहरीमा अध्यक्ष भेला सम्पन्न भएको हो ।
अध्यक्ष भेला उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर पौडेलले आँफू जेसीज सदस्य बन्न नसकेकामा पछुतो लागेको बताए ।
जेसीजको सदस्य बन्न सकेको भए नगरलाई झन् सशक्त र चुस्त दुरुस्त बनाउने काममा सहयोग पुग्ने उनको भनाइ छ ।
इटहरी लेडी जेसीजकी अध्यक्ष सुमित्रा भट्टराईले नेपाल जेसीजले आयोजना गर्ने विभिन्न सभाका लागि आँफूहरूको सक्रिय सहभागिता रहने बताए ।
उदघाटन कार्यक्रममा अध्यक्ष भट्टराईले स्वागत मन्तव्य राख्दै उक्त कुरा बताएकी हुन् । सम्मेलन निर्देशक इटहरी लेडी जेसीजकी पूर्वअध्यक्ष रोश्ना थापाले धन्यवाद ज्ञापन गरिन् ।
उक्त भेलामा नेपाल जेसीजले इटहरी भेलाको आतिथ्यता गर्ने इटहरी लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष सुमित्रा भटराईलाई सम्मान समेत गरेको छ । त्यस्तै, मार्च महिना उत्कृष्ट शाखाका रुपमा घोषित भएको कमलनगर जेसीजलाई समेत सम्मान गरियो ।
उनीहरूलाई नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेतले सम्मान गरिन् । कार्यक्रममा झुम्का जेसीजकी अध्यक्ष कमला कार्की र मलंगवा जेसीजका अध्यक्षले कार्यक्रमका विषयमा धारणा राखेका थिए ।
आगामी असोजमा विराटनगरमा हुने क्षेत्र क सम्मेलनको पूर्व तयारी स्वरुप यो सम्मेलन आयोजना गरिएको सम्मेलन निर्देशक रोश्ना थापाले बताइन् ।













Discussion about this post