विराटनगर : मोरङको विराटनगर–रंगेली सडक खण्डअन्तर्गत कर्सिया बजार बन्द गर्दै सडक अवरुद्ध पारिएको छ।
हत्या आरोपीलाई प्रहरीले अनुसन्धान तथा कारबाहीको दायरामा नल्याउँदै भन्दै कर्सियाका स्थानीले बजार बन्द गर्नुका साथै सवारीसाधान अवागमन ठप्प पारेका हुन्।
र्यापर गिरिश खतिवडासहित ३ जनाविरुद्ध मोरङ प्रहरीमा हत्या आरोपमा जाहेरी दर्ता गरिए पनि हालसम्म उनीहरुलाई प्रहरीले अनुसन्धान तथा कारबाहीको दायरामा नल्याएको भन्दै पीडितका आफन्त तथा स्थानीयले बजार बन्द गर्दै सडक अवरुद्ध परेका हुन्।
धनपालथान गाउँपालिका–४ कर्सियाका २८ वर्षीय मासु व्यवसायी कासिद अंसारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा खतिवडासहित करण राजवंशी, अनुराग राउतविरुद्ध परिवारले किटानी जाहेरी मोरङ प्रहरीमा दर्ता गराएका छन्।
खतिवडाले विराटनगरमा जि क्याफे एण्ड बिस्ट्रो सञ्चालन गर्दै आएका छन्। घटनामा संलग्न भनिएका राजवंशी र राउत क्याफेका कर्मचारी हुन्।
कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका अंसारी असार ३ गते दिउँसो ११ बजेतिर क्याफेमा मासु दिए वापत ४० हजार पैसा लिन आउँदा खतिवडासहित ३ जना मिलेर कुटपिट गरेका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
अंसारीको रहस्यमय मृत्यु प्रकरणमा किटानी जाहेरी दिँदासमेत प्रहरीले अनुसन्धान तथा कारबाहीमा उदासिन देखाएको हुँदा बजार बन्द गर्नुका साथै सडक अवरुद्ध पार्नु परेको बताउँदै, मृतकका भाइ माजिद अंसारीले भने, ‘दाइको क्याफेमा मृत्यु भएको थियो। घटनामा संलग्न क्याफे सञ्चालक र त्यहाँका २ जना कर्मचारीविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले सुरुवातमै मानेको थिएन। धेरै समयपछि बल्लतल्ल प्रहरीले जोहरी दर्ता ग¥यो। जाहेरी दर्ता भएको एक साता बितिसक्दा पनि प्रहरीले उनीहरुलाई अनुसन्धान तथा कानुनी कारबाही नगरी उन्मक्ति दिन खोजेको हुँदा आन्दोलन गर्नु परेको हो।’
‘घटनामा संलग्न भएकाहरुलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन। हामीले कसरी घटनाको निष्पक्ष छानबिन हुन्छ र हामीले न्याय पाउँछौ भन्ने कुरामा विश्वस्त हुनु,’ भाइ माजिदले भने, ‘हाम्रो माग सिआइबीले घटनाको निष्पक्ष छानबिनका गरिनु पर्छ। घटनाको सत्यतथ्य छानबिन नभएसम्म आन्दोलन गर्छौं।’














Discussion about this post