इटहरी : इटहरी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेका यामकुमार सुब्बा इटहरी खानेपानीको अध्यक्षमा निर्वाचित बनेका छन् ।
शनिबार भएको खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा एमाले निकट प्यानलै निर्वाचित बनेको हो ।
सुब्बा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट इटहरी उपमहानगरको उम्मेदवार थिए । उनी कांग्रेसका हेमकर्ण पौडेलसँग पराजित बनेका थिए ।
मेयरमा पराजित भएसँगै सक्रिय राजनीतिबाट उनी निष्क्रिय भएको आरोप लागेपनि खानेपानीको निर्वाचनमा विजयी भएका हुन् । उनले १२५ मत प्राप्त गर्दा कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राप्रपा प्यानलबाट अध्यक्षको प्रत्याशी रहेका ठमनाथ लम्सालले ४७ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा एमालेकै प्रेम बस्नेतले १२२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी रमेश अधिकारीले ४८ मत प्राप्त गरे ।
यस्तै, महासचिवमा एमाले प्यानलकै शालिग्राम ढकाल विजयी भएका छन् । उनले ११९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बालकृष्ण विष्टले ५३ मत प्राप्त गरे । सचिवमा एमालेकै लोकनाथ भट्टराईले १३० मत प्राप्त गर्दा रुद्रबहादुर अधिकारीले ४१ मत ल्याए ।
कोषाध्यक्षमा गङ्गाप्रसाद दाहालले ११८ मत प्राप्त गर्दा वीरेन्द्र गुरुङले ५० मत प्राप्त गरे ।
यसअघि गत चैत्र २४ गते खानेपानी परिषद् सदस्यको निर्वाचन भएको थियो । २३ हजार २ सय खानेपानीका उपभोक्ताहरूले १८३ जना परिषद् सदस्य निर्वाचित गरेका थिए ।
निर्वाचित परिषद् सदस्यले पदाधिकारीका लागि मतदान गर्ने व्यवस्था रहेको छ ।














Discussion about this post