इटहरी (डेस्क) : मोरङको सुन्दरहरैँचामा नाबालिका दिदीबहिनीको शव अँगालो मारेको अवस्थामा भेटिएको छ । शनिबार (आज) दिउँसो ४ः३० बजेतिर एकै घरका दुई नाबालिकाको शव फेला परेको हो ।
सुन्दरहरैँचा नगरपालिका–७ का नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो ।
डीएसपी बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’ प्रहरीका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ ।
केराघारीभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन् ।
अस्मिताको खोजी गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद भएको प्रहरीको भनाइ छ । घटना शंकास्पद भएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post