झापा : झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशी रहेकी छन् ।
स्थानीय दीपज्योति सामुदायिक वनमा दाउरा खोज्न गएकी राजबंशी आज (बुधबार) दिउँसो १२ बजेतिर हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् ।
हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरेको थियो ।
उपचारका लागि सुरूमा भद्रपुरको ओम साई पाथीभरा हस्पिटल पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।
मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post