इटहरी : इटहरीमा जारी १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार इटहरी रंगशालामा भएको खेलमा मच्छिन्द्रले झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।
मच्छिन्द्र फुटबल क्लबका लागि खेलको ३१ औं मिनेटमा विदेशी खेलाडी मलिक बामिदेले युसुफले गोल गरे । त्यसपछि दुवै टिमबाट गोल नहुँदा उनले गरेको गोल नै निर्णायक बन्यो ।
प्रतियोगितामा उनै मलिक म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
मंगलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज यूनाइटेड काठमाडौं र धरान फुटबल क्लबबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।
Discussion about this post