इटहरी : सगरमाथा युथ क्लब मोरङ इटहरी गोल्कडपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।
खेलको २९ औँ मिनेटमा डिबक्सभित्र धरान फुटबल क्लबका प्रज्वल थापा मगरले सुशील राईलाई फल्ड गरेका थिए । फल्डपछि पेनाल्टी गर्ने अवसर प्राप्त गरेको सगरमाथाका लागि कुलदीप कार्कीले गोल गरे ।
उक्त पेनाल्टी गोलमा परिणत भएपछि धरान फुटबल क्लबले असन्तुष्टि जनाउँदै केहीबेर खेल अवरूद्द भयो ।
रेफ्रीको पेनाल्टी दिनु गलत निर्णय भएका कारण धरानले असन्तुष्टि जनाएको थियो । करिब १५ मिनेट अवरूद्द भएको खेल पुनः सुचारू भएको थियो ।
खेल अवधिभर दुवै टिमबाट गोल गर्ने अवसर प्राप्त भएपनि गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक भयो । त्यससँगै सगरमाथा युथ क्लबले फाइनलको यात्रा तय गरेको हो ।
खेलको म्यान अफ दि म्याच उनै कुलदीप घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
अब मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र सगरमाथाबीच शनिबार इटहरी रंगशालामा फाइनल खेल हुनेछ ।
राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।
Discussion about this post