इटहरी : १५ औँ संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको मच्छिन्द्र फुटबल क्लब काठमाडौँले चुमेको छ ।
शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा सगरमाथा युथ क्बल मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको हो ।
यससँगै मच्छिन्द्रले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सगरमाथा युथ क्बलले नगद पाँच लाखमा चित्त बुझाएको छ ।
मच्छिन्द्रको जितका लागि विदेशी खेलाडी मलिक युसुफले खेलको चौथो मिनेटमा गोल गरेका थिए भने ८५ औँ मिनेटमा ओमुलाजा नुरैन हरिमले दोस्रो गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताकको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित हुँदै नगद एक लाख र ट्रफी प्राप्त गरे ।
यसैगरी उत्कृष्ट गोल रक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ घोगिात भए । उत्कृष्ट डिफेन्डर मच्छिन्द्रकै शनिस श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रकै विशाल घलान घोषित भए ।
यसैगरी मच्छिन्द्रकै मलिक युसुफ उत्कृष्ट फरवार्ड, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही नगद २० हजार र ट्रफी प्राप्त गरे ।
यस्तै प्रतियोगिता अवधिभर ४ गोल गरेका मछिन्द्रकै मलिक युसुफ सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित हुँदै ३२ इन्चको एलइडी टिभी प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल र कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेको क्लबका अध्यक्ष सन्त डुम्जनले जानकारी दिए ।
फागुन ३ गतेदेखि सुरू भएको प्रतियोगितामा एक भारतीयसहित आठ टिमको सहभागिता रहेको खेल संयोजक अनुरोध थापाले जानकारी दिए ।
Discussion about this post