इटहरी : सुनसरीको दुहबीमा निर्माण रोकिएको ६ लेन सडक बन्ने भएको छ ।
नगरपालिकाले बिहीबार डोजरको प्रयोग गरी सडक क्षेत्राधिकारमा रहेका संरचना हटाएपछि सडक बन्ने निश्चितजस्तै भएको हो ।
रानी–विराटनगर–इटहरी–धरान सडक खण्डअन्तर्गत दुहबीमा ६ लेनको सडक विस्तार गर्न बिहीबार डोजर प्रयोग गरी ५८ वटा संरचना भत्काइएको नगर प्रमुख वेद गच्छदारले जानकारी दिए ।
यसअघि स्थानीयले अदालतमा मुद्दा दायर गरेकोमा एक महिनाअघि रिट खारेज गरेपछि घर भत्काउन ३० दिने समयसीमा तोकिएको थियो ।
उक्त समयसीमा बुधबार सकिको हो । समयसीमा सकिएपछि दुहबी नगरपालिकाले बिहीबारदेखि घर भत्काउन सुरु गरेको हो ।
सडक विस्तार गर्नका लागि ६२ वटा घर भत्काउनुपर्ने भए पनि अब चार वटा भत्काउन बाँकी रहेको गच्छदारले जानकारी दिए ।
उनका अनुसार सडक क्षेत्राधिकारमा पर्ने घर भत्काएसँगै ६३० मिटर सडक निर्माणका लागि ६ लेन सडक आयोजनाले टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।
सडकको दायाँबायाँ ६–६ मिटर सेटब्याक कायम गर्नका लागि ७ वटा स्काभेटरको प्रयोग गरिएको थियो ।
अधिकांशले आफैँ घर तथा टहरा भत्काए पनि केही स्थानीयले भने अटेर गरेर बसिरहेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको गच्छदारले बताए ।
Discussion about this post