झापा : झापाको झापा गाउँपालिका–४ चौधरी टोलमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको अनटेस्ट टिभीएस अपाची मोटरसाइकल शुक्रबार बिहान ११ः३५ बजेतिर दुर्घटनामा परेको हो। मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनामा झापा–३ निवासी २२ वर्षीय साहिदुल हकको मृत्यु भएको पुष्टि भएको छ। उनलाई दुर्घटनापछि तत्काल उद्धार गरी बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक झापा–४ का २४ वर्षीय फकिर अली गम्भीर घाइते छन्। उनको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको छ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सोहिल मियाँको अवस्था मध्यम रहेको र उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकलको गति तीव्र रहेको र त्यही कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post