झापा : झापामा बिहीबार (आज)बिहान जंगली हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बूको घटनास्थलमै ज्यान गएको हो।
झापा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लिम्बू बिहान करिब ३ः४५ बजे शौचालय जान घरको आँगनमा निस्किएका थिए। सोही क्रममा जंगली हात्तीको आक्रमणमा परेका उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार लिम्बूलाई आक्रमण गरेपछि हात्ती दक्षिणतर्फ लागेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय र वन कार्यालयका टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान अगाडि बढाएका छन्।
स्थानीय बासिन्दाहरूले यसअघि पनि सो क्षेत्र आसपासमा जंगली हात्ती देखापर्ने गरेकाले त्रास बढेको जनाएका छन्। वन क्षेत्र नजिकको बस्तीमा हात्तीको आवतजावत बढेपछि स्थानीय बासिन्दाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ।














Discussion about this post