झापा : झापाको मेचीनगरमा अटो टेम्पो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१२ मा शनिबार साँझ ५ः१० बजेतिर दुर्घटना भएको हो।
चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे ८ प ८०३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ का ३४ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई तत्काल बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याइएको थियो । तर साँझ ५ः५० बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४० वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दीपा विक घाइते भएका छन्। उनीहरूको चारआलीस्थित पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेलाई प्रहरीको नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।














Discussion about this post