धरान : यही असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको चुनावमा अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धतासहित टिमको नामवाली सार्वजनिक गरेको छ ।
अध्यक्षको लागि दुई वटा प्यानलमध्ये मंगलबार शिवराजको प्यानलले चुनावी प्रतिवद्धतासहित उम्मेद्धवारहरूको नामवाली सार्वजनिक गरेको हो ।
उनको प्यानलले धरानको व्यापार व्यवसायलाई थप चलायमान गराउनको लागि धरान लेउती सुरुङमार्ग आवश्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ ।
धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै सुस्ताएको धरानको व्यापारिक बजार चहलपहल बढाउनको लागि सुरुङ मार्ग आवस्यक भएकाले आफुले उक्त मार्ग बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्ने पत्रकार सम्मेलनमा बताए ।
यसैष्री कोशीमा बन्ने किमाथांका राजमार्गको एकमात्र ड्राइपोर्ट धरानमा बनाउन पहल गरिने, पर्यटन प्रवद्र्धन गर्न हेलिप्याड निर्माण, धरानको धार्मिक पर्यटन र हेल्थ टुरिजम बढाउने आफ्नो एजेन्डा रहेको रहेको प्रतिवद्धता रहेको बताए ।
त्यसैगरि धरानको व्यापारिक इतिहासलाई फर्काउनको लागि धरान, इटहरी, इनरुवा, रामधुनी चतरा र बराहक्षेत्रलाई आर्थिक क्षेत्र घोषणाको लागि आवश्यक पहल गरिने प्रतिवद्धतामा उल्लेख छ ।
उनको टिममा वाणिज्य तर्फका सदस्यहरू अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाँई, सीताराम आचार्य रहेका छन् ।
महिलातर्फ ममता शाक्य, उद्योग वाणिज्यतर्फ उमेश अग्रवाल, खड्गबहादुर बस्नेत (राजु) र शिवानन्द साह छन् । एसोसिएटतर्फ राजु साह र राजेश अग्रवाल रहेका छन् ।
अर्को प्यानलतर्फ गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । खासगरी गोपाललाई कांग्रेससहितले समर्थन गरेका छन् भने शिवराजलाई एमालेसहितका दलले सहयोग गरेका छन् ।
निर्वाचनका लागि २ हजार ९०४ जनाले मतदान गर्दैछन् ।













Discussion about this post