इटहरी : अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाब बढ्दै गएको छ ।
पानीको बहाब बढ्दै गएपछि सुनसरी प्रशासनले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र समुदायस्तरीय सहभागिता तीव्र पारेको छ।
शनिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मीहरू र जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूसहितको टोलीले सप्तकोसी ब्यारेजदेखि चतरा पुलसम्म स्थलगत अनुगमन गरेको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यकता परे सुरक्षित स्थानमा सर्न, असामान्य गतिविधि देखिए तुरुन्तै प्रहरी वा प्रशासनलाई जानकारी दिन अपिल गरेका छन्।
अनुगमनपछि जिल्ला प्रहरी प्रमुख एसपी केशब कुमार थेबेले कोशीको बहाब अहिले सामान्य भए पनि आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तक रहन अनुरोध गरे।
‘हामीले सम्भावित जोखिमलाई ध्यानमा राखी अग्रिम तयारीलाई प्राथमिकता दिएका छौँ,’ उनले भने।
उनका अनुसार चतरा, चक्रघट्टी, प्रकाशपुर, मधुवन, भण्टाबारीलगायतका क्षेत्रमा रातिको समयमा जोखिम रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
उनका अनुसार प्रहरीको विशेष टोली निरन्तर निगरानी र उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
त्यसैगरी, टोल विकास समिति, रेडक्रस, वडा कार्यालयदेखि नागरिक स्वयंसेवकसम्मलाई सतर्कतासहित समन्वयमा जोड दिइएको छ।
प्रशासनले डुङ्गा, एम्बुलेन्स, राहत सामग्री र सुरक्षाकर्मीलाई आपतकालीन उपयोगका तयारी अवस्थामा राखेको जनाएको छ।














Discussion about this post