इटहरी : अविरल वर्षाका कारण पूर्व पहाडी क्षेत्रको आवागमनमा अवरोध सिर्जना भएको छ।
कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा भेडेटार घुम्तीमुनीको कोल्वोटे क्षेत्रमा आज बिहान पहिरो जाँदा आवतजावत आंशिक रूपमा अवरुद्ध भएको हो।
भेडेटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार पहिरोबाट सडक भासिएपछि साना सवारी साधनलाई एकतर्फी रूपमा चलाइए पनि ठूला सवारी साधनको आवतजावत भने रोकिएको छ।
अहिले पनि सो क्षेत्रमा पहिरो खस्ने क्रम जारी रहेकाले अत्यावश्यक बाहेक यात्रुहरूलाई सडक प्रयोग नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ।
पाँचथरको तुम्वेवा–२ र धनकुटाको चौविसे–४ सिमानामा पर्ने नावाखोलामा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि आएको बाढीले सडककै केही भाग बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
हाल पाँचथरतर्फ तीन र धनकुटातर्फ चार ट्रक बीचैमा रोकिएका छन्।
प्रहरीका अनुसार डोजर परिचालन गरी मर्मत सुरु गर्ने तयारी भइरहेको छ। तर नावाखोलामा पक्की पुल निर्माण कार्य अपूरो रहेकाले वर्षा हुँदा वर्षेनि यही समस्या दोहोरिने गरेको स्थानीयहरूले बताएका छन्।
यसैबीच, भेडेटार–रवि–राँके सडकखण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पनि पहिरो खस्दा दुबै तर्फका सवारी पूर्ण रूपमा रोकिएका छन्।














Discussion about this post