विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंसिर महिनाका लागि तीन जना प्रहरी कर्मचारीलाई संयुक्त रूपमा “सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।
घोषित हुनेमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार टीकाराम निरौला रहेका छन्।
प्रहरी नायव निरीक्षक कार्कीले सुनसरीको रामधुनी नगरपालिका–२ का ४५ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली प्रहार गरी हत्या गरिएको घटनामा मुख्य योजनाकार नन्दकिशोर साहसहित ७ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, प्रहरी सहायक निरीक्षक कार्की र प्रहरी सहायक हवल्दार निरौलाले मोरङको लेटाङ नगरपालिका–२ निवासी १२ वर्षीया अंशु गौतमको हत्या घटनाको अनुसन्धानमा उल्लेखनीय भूमिका खेल्दै घटनामा संलग्न पदमबहादुर अधिकारीलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याउन सफल भएका थिए।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय कर्तव्य निर्वाह गरी आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति गराउन योगदान पुर्याएको भन्दै उनीहरूको कार्यको उच्च मूल्याङ्कन गरी मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।












Discussion about this post