विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसरमा आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम भएकी छन्।
‘वर्तमान संविधानले परिकल्पना गरेको नेपालको संघीयता : वरदान कि अभिशाप’ विषयमा आयोजित प्रतियोगितामा कुलानन्द यादव दोस्रो, प्रिन्स कार्की तेस्रो र आशुतोष गुप्ता सान्त्वना स्थानमा परे।
प्रतियोगितामा विद्यार्थीले नेपालको संघीय शासन प्रणालीका अवसर, चुनौती, उपलब्धि तथा प्रभावका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए। सम्बोधन, विषयवस्तुको प्रस्तुति, तर्क क्षमता, मौलिकता, खण्डन क्षमता र समय व्यवस्थापनलाई आधार बनाएर मूल्यांकन गरिएको थियो।
प्रतियोगिताका निर्णायक कवि तथा पत्रकार मीनकुमार नवोदित र पत्रकार विजयहरि खतिवडा थिए। निर्णायक नवोदितले यस्ता प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुग्ने बताए।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले विद्यालयले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिर रहेर समसामयिक विषयमा अध्ययन तथा विश्लेषण गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।
प्रतियोगिताका विजेतालाई विद्यालयका निर्देशक भरतराज दाहाल, डा. भविन्द्र निरौला, निर्णायकद्वय नवोदित र खतिवडा तथा अतिरिक्त क्रियाकलाप संयोजक विमल भट्टराईलगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे।
विद्यालयका निर्देशक दाहालले पाठ्यक्रममा आधारित अध्ययनसँगै विद्यार्थीको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए। विद्यार्थीको सिर्जनात्मक क्षमता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको उनको भनाइ छ।
अतिरिक्त क्रियाकलाप संयोजक भट्टराईका अनुसार विद्यालयमा यसअघि कविता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेका छन्। विद्यार्थीलाई सिर्जनशील र सक्रिय बनाउन कविता, वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ, गायन, नृत्य तथा खेलकुदलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
विद्यार्थी सचिन साह र आँचल यादवले सञ्चालन गरेको कार्यक्रममा छात्र आमोस ताजपुरियाले गीत प्रस्तुत गरेका थिए।
















Discussion about this post