तेह्रथुम : रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि बिदेसिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन्। बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएकी छन्।
करिब २० रोपनी क्षेत्रफलमा ५० वटा टनेल निर्माण गरी उनले व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएकी छन्। टमाटर, भन्टा, अकबरे खुर्सानी, काक्रो, बोडी तथा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकी तुलसालाई बिहान ४ बजेदेखि साँझसम्म खेतीको कामले फुर्सद हुँदैन।
“आफ्नै माटोमा मेहनत गर्न सक्यो भने पैसा पनि यहीँ फल्दोरहेछ,” बुढाथोकीले भनिन्, “ढङ्ग पुर्याएर मेहनत गर्ने हो भने सरकारी जागिरभन्दा तरकारी खेती निकै जाती।”
उनको परिवारका अन्य सदस्य पनि कृषि कर्ममै जोडिएका छन्। उनका श्रीमान् सरकारी सेवामा छन् भने ससुरा पनि सरकारी सेवाबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुन्। खनाल परिवारले सागसब्जी खेतीसँगै करिब ८० रोपनी क्षेत्रफलमा धान खेती पनि गर्दै आएको छ। धानखेतीको जिम्मेवारी ससुराले सम्हाल्दै आएका छन् भने तुलसाले मुख्य रूपमा सागसब्जी खेतीको व्यवस्थापन गर्दै आएकी छन्। श्रीमान् सरकारी सेवामा रहे पनि बिहान–बेलुका सागसब्जी खेतीमा सहयोग गर्ने गरेका छन्।
सागसब्जी खेतीका लागि दुई जना गाउँकै महिलालाई स्थायी कामदारका रूपमा जिम्मेवारी दिइएको छ। उनीहरूलाई मासिक रु १८ हजार पारिश्रमिक दिने गरिएको तुलसाले बताइन्। कामको चापअनुसार थप श्रमिक पनि बोलाउने गरिएको उनले बताइन्।
बोलाइएका श्रमिकलाई कामको प्रकृतिअनुसार दैनिक रु ५०० देखि रु १ हजार ५०० सम्म पारिश्रमिक दिने गरिएको उनले बताइन्।
बुढाथोकी परिवारले करिब १६ वर्षअघि १२–१५ वटा टनेलबाट व्यावसायिक सागसब्जी खेती सुरु गरेको थियो। सृजनशील कृषि फर्म दर्ता गरी सञ्चालन गर्दै आएकी उनले विसं २०७६ मा प्रदेश सरकारबाट रु पाँच लाख अनुदान प्राप्त गरेको बताइन्। त्यसपछि थप टनेल विस्तार गरी ५० वटा पुर्याएको उनले बताइन्।
“सुरुमा डेढ–दुई लाख रुपैयाँबाट खेती थालेका थियौँ,” उनले भनिन्, “यहाँबाट भएको कमाइलाई फेरि यही व्यवसायमा थप्दै र लगानी गर्दै जाँदा अहिले करिब रु ८० लाख पुगेको छ।”
म्याङलुङ बजारको हटियामा एक पटकमा रु १० हजारदेखि रु ४० हजारसम्मको सागसब्जी बिक्री हुने गरेको तुलसाले बताइन्। उनले हप्तामा दुई पटक सागसब्जी बजारमा बिक्रीका लागि लैजाने गरेकी छन्।
विशेषगरी बेमौसमी सागसब्जीको बजार राम्रो रहेको उनको अनुभव छ। कामदारको पारिश्रमिक, मल, बीउलगायतका खर्च कटाएर वार्षिक करिब रु १५ लाख खुद नाफा हुने गरेको उनले बताइन्।
तुलसाका श्रीमान् यसअघि म्याङलुङ बजारमा साइबर सञ्चालन गर्थे। विसं २०६० तिर वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनी विदेशको दुःख र संघर्ष देखेपछि स्वदेशमै केही गर्ने सोच बनाएर फर्किएका थिए। त्यसपछि श्रीमान्–श्रीमती मिलेर १०–१२ वटा टनेलमा सागसब्जी खेती सुरु गरेका थिए।
विसं २०७० सालदेखि उनका श्रीमान्ले जिल्ला अस्पताल तेह्रथुममा करार सेवामा काम गर्न थाले भने तुलसाले सागसब्जी खेतीलाई थप विस्तार गर्दै व्यावसायिक रूपमा सञ्चालन गर्न थालेकी हुन्।
सागसब्जी खेतीबाट भएको आम्दानीले परिवारको आर्थिक अवस्था सुधारिनाका साथै छोराछोरीको शिक्षामा पनि सहयोग पुगेको उनले बताइन्। म्याङलुङ बजार र इटहरीमा घर निर्माण गरिएको छ। छोरी स्नातक तह तेस्रो वर्षमा आइटी इन्जिनियरिङ अध्ययनरत छन् भने छोरा कक्षा १२ मा अध्ययनरत छन्। छोराछोरीको शैक्षिक खर्चमा मासिक रु ६०–७० हजारसम्म खर्च हुने तुलसाले बताइन्।
“सागसब्जी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइदेखि घरायसी खर्चसम्म धान्न सहयोग पुगेको छ,” उनले भनिन्।
म्याङलुङ बजारको टुँडिखेलमा लाग्ने मंगलबार र शुक्रबारको हटियाका लागि उनको टोलबाट मात्रै दुई वटा ट्र्याक्टरमा सागसब्जी जाने गरेको छ। विगतमा डोकोमा बोकेर बजार पुर्याउनुपर्ने भए पनि पछिल्ला पाँच–सात वर्षयता सडक विस्तार भएपछि सागसब्जी बजारसम्म पुर्याउन सहज भएको उनले बताइन्।
बिहान ४ बजे नै खेतमा पुगेर बोटबिरुवाको अवस्था हेर्ने, रोग–किरा हटाउने, उत्पादन टिप्ने र बजार व्यवस्थापन गर्ने तुलसाका लागि कृषि व्यवसाय अहिले आम्दानीको माध्यम मात्र नभएर परिवारको भविष्य निर्माण गर्ने आधार पनि बनेको छ।
तुलसाको १६ वर्षे कृषि यात्राले रोजगारीका लागि विदेशिनैपर्छ वा सरकारी जागिरमै निर्भर हुनुपर्छ भन्ने होइन, आफ्नै ठाउँमा उपलब्ध माटो, श्रम, सीप र स्रोत–साधनको सदुपयोग गर्न सके अवसरका ढोका खोल्न सकिन्छ भन्ने देखाएको छ।
उनको सफलताले गाउँमा बाँझिँदै गएका जमिनलाई उत्पादनसँग जोड्न सके आम्दानीसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने सन्देश दिएको छ।
“आफ्नै गाउँको माटोमा मेहनत गर्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ,” खनालले भनिन्, “आफ्नै ठाउँमा भएको स्रोत र सीपलाई सदुपयोग गर्न सके परिवारसँगै बसेर काम गर्न र कमाउन सकिन्छ।”
















Discussion about this post